चन्द्रागिरिमा बुलेट मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, पछाडि सवार घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुरको बेलौरी निवासी करिब २५ वर्षीय रमेश चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका करिब ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्याएको थियो । उपचारका क्रममा साँझ ७ बजे चिकित्सकले मोटरसाइकल चालक चौधरीलाई मृत घोषणा गरेका थिए ।
पछाडि सवार वाइबाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल साँझ ७ः३५ बजे घटनास्थलबाट निकालेर प्रहरी प्रभाग मातातीर्थमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *