चितवन । चितवनको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा भारतीय कन्टेनरबाट ४४३ किलो गाँजा बरामद गरिएको छ । गाँजा तस्करीमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार कन्टेनरको चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको थियो ।
गाँजासहित कन्टेनर चालक भारतको वैशाली जिल्ला, चर्खाजे गाउँका २४ वर्षीय सत्यम कुमार र सहचालक वैशाली जिल्लाकै बाबन घाटका २० वर्षीय रौनक कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना र बरामद गाँजाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
