भोटेकोसी बाढीपीडितका लागि चीनको २ मिलियन डलर अनुदान स्वीकार

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री बालेन साहको भारत भ्रमण स्वीकृत गर्नेदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्मका निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीको नेतृत्वमा मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन् ।

बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धारका लागि प्राप्त हुने दुई मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फ्यासिलिटी (आरसीएफ) अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निब्र्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्नुका साथै ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *