काठमाडौं । साविक उपविजेता सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएन)को फाइनलमा पुगेको छ । बिहीबार राति सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो । अब सुदूरपश्चिमले उपाधिको लागि लुम्बिनी लायन्सको सामना गर्नेछ ।
जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको लागि थारिन्दु रत्नायाकेले अर्धसतक बनाए । उनले ४२ बलमा ७ चौकाको मद्दतमा नटआउट ५३ रन बनाए । यस्तै विनोद भण्डारीले २३, कप्तान दीपेन्द्र सिंह एरीले १५ तथा इशान पाण्डे र आरिफ शेखले समान १०/१० रन बनाए ।
चितवनको लागि रञ्जित कुमारले दुई विकेट लिँदा कमल सिंह एरी, रिजन ढकाल, उसमा मिर र सालाहुदीन खानले सामना एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । चितवनको लागि डेविड मलानले नटआउट अर्धसतक बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै सालाहुदीन खानले १८ र कमल सिंह एरीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले ४ ओभरमा २७ रन दिएर तीन विकेट लिँदा थरिन्दु रत्नायाकेले दुई विकेट लिए । यस्तै हेमन्त धामी, दीपेन्द्र सिंह एरी र इशान पाण्डेको नाममा एक/एक विकेट रह्यो ।
अब सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल शनिबार हुनेछ ।
