काठमाडौं । फ्रान्सले यूईएफए नेसन्स लिगमा टर्किएलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । आइतबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले टर्किएलाई २–१ गोलले हराएको हो ।
फ्रान्सको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ४९औँ मिनेटमा टर्किएका डिफेन्डर एमिरहान टोप्चुले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।
खेलको ८०औँ मिनेटमा जुनियर क्रुपीले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । रयान चेर्कीको पासमा उनले गोल गरेका थिए ।
खेलको ९०औँ मिनेटमा अब्दुल्केरिम बर्दाक्चीले गोल गर्दै टर्किएलाई खेलमा फर्काउने प्रयास गरे । उनले अर्दा गुलरको पासमा गोल गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा फ्रान्स २–१ ले विजयी भयो ।
जितसँगै फ्रान्सले समूह चरणका ६ खेलबाट १३ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा स्थान बनाएको छ । बेल्जियम १२ अंकसहित दोस्रो तथा इटाली १० अंकसहित तेस्रो स्थानमा रहेका छन् । टर्किए भने अंकविहीन रहँदै समूहको पुछारमा रह्यो ।
