काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त भएकै दिन नियुक्तिपत्र पाएको गृह मन्त्रालयले जनाएको छ ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई सुरक्षा मामिलामा प्रधानमन्त्रीलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्ति भएकै दिन नियुक्तिपत्र बुझेका हुन् । तर तिहार र छठ पर्वको लामो सार्वजनिक बिदाका कारण उनी हालसम्म कार्यालयमा हाजिर भएका छैनन् ।
कार्कीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ । यसैबीच, प्रहरी महानिरीक्षक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । सरकारले उनलाई हटाएर एआईजीपी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
