छठ पर्वमा देशभर उच्च सुरक्षा सतर्कता अपनाउन प्रहरी महानिरीक्षक केसीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन देशभर उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

शनिबार भर्चुअल माध्यमबाट छठ पर्व लक्षित सुरक्षा व्यवस्थासम्बन्धी निर्देशन दिँदै उनले सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी प्रभावकारी सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता थियो ।

आईजीपी केसीले छठ पर्वका अवसरमा सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी कुनै पनि किसिमको सुरक्षा कमजोरी हुन नदिन व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न निर्देशन दिए ।

उनले पर्वसँग सम्बन्धित सम्भावित सुरक्षा चुनौती, अवाञ्छित गतिविधि तथा संवेदनशील अवस्थाबारे समयमै सूचना संकलन, विश्लेषण र आदानप्रदान गरी आवश्यक पूर्वतयारी गर्न पनि जोड दिए ।

त्यस्तै, छठ पर्वका क्रममा नदी, पोखरी तथा जलाशय क्षेत्रमा हुने भीडभाड व्यवस्थापन, श्रद्धालु भक्तजनको सहज आवागमन र सुरक्षालाई विशेष प्राथमिकता दिन उनले निर्देशन दिए ।

भीड नियन्त्रणका क्रममा संवाद, सम्झाइबुझाइ र समन्वयलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले बल प्रयोग गर्नुपर्ने अवस्था आए प्रचलित कानुन, आवश्यकताको सिद्धान्त र समानुपातिकताको मापदण्डअनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिए । उनले फिल्ड कमाण्डरलाई सुरक्षा अवस्थाको प्रत्यक्ष निगरानी र नियन्त्रण कायम राख्नसमेत निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *