एजेन्सी । युईएफए नेसन्स लिगअन्तर्गत जर्मनीले सर्बियामाथि सहज जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए२’ को खेलमा जर्मनीले ९ खेलाडीमा समेटिएको घरेलु टोली सर्बियालाई ३–१ गोलले पराजित गरेको हो ।
जर्मनीको जितमा स्र्दान बाबिचको आत्मघाती गोलसँगै फ्लोरियन विर्ट्ज र ब्रायन ग्रुडाले गोल गरे । सर्बियाका लागि भने बाबिचले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै बाबिचले आत्मघाती गोल गरेपछि जर्मनीले अग्रता बनाएको थियो । १४औं मिनेटमा विर्ट्जले गोल थप्दै जर्मनीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमै ५०औं मिनेटमा ग्रुडाले गोल गरेपछि जर्मनी ३–० ले अघि बढ्यो । त्यसको छ मिनेटपछि बाबिचले गोल गर्दै सर्बियालाई खेलमा फर्काउने प्रयास गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको अन्तिम समयमा सर्बिया थप संकटमा परेको थियो । ७४औं मिनेटमा भान्जा ड्रागोयेभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा सीमित भयो । यस्तै, ८९औं मिनेटमा आन्द्रिया जिभ्कोभिचले पनि रातो कार्ड पाएपछि सर्बिया नौ खेलाडीमा सीमित भएको थियो ।
यस जितसँगै जर्मनीले समूह ‘ए२’ मा क्वार्टरफाइनल प्रवेशको सम्भावना जीवित राखेको छ । पाँच खेलबाट आठ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ । समान आठ अंक रहेको ग्रीस गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने ११ अंकसहित नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।
पाँचवटै खेलमा पराजित सर्बिया भने अंकविहीन रहँदै समूहको पुछारमा छ । यससँगै सर्बियाको नेसन्स लिगको शीर्ष श्रेणीबाट रेलिगेसन निश्चित भएको छ ।
