काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गोविन्द पन्थीले विधिको शासन र कानुनी प्रक्रियाको पूर्ण पालना गर्नु जननिर्वाचित सरकारको संवैधानिक दायित्व भएको बताएका छन्।
आईजीपी प्रकरणकाबारेमा सामाजिक सञ्जालमार्फत सांसद पन्थीले विधि र प्रक्रियाको शासन २१औँ शताब्दीको लोकतान्त्रिक व्यवस्थाको अनिवार्य आधार भएको उल्लेख गरेका छन्।
उनले राज्यका बेथिति, विसङ्गति र भ्रष्टाचारको अन्त्य पनि विधि र प्रक्रियालाई आत्मसात् गरेरै गर्नुपर्ने बताएका छन्।
विधिको शासन, सुशासन, जवाफदेहिता र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
उनले भनेका छन्, ‘विधि र प्रक्रियाको शासन एक्काइसौँ शताब्दीको लोकतान्त्रिक व्यवस्थाको अनिवार्य आधार हो । यसको पूर्ण पालना गर्नु जननिर्वाचित सरकारको संवैधानिक दायित्व र नैतिक कर्तव्य दुवै हो । विधि र प्रक्रियालाई आत्मसात् गर्दै नै राज्यका बेथिति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ। विधिको शासन, सुशासन, जवाफदेहिता र संस्थागत सुदृढीकरणलाई केन्द्रमा राखेर अघि बढ्नु नै समृद्धिको यात्रालाई सार्थक बनाउने आजको आवश्यकता हो । परिवर्तनको नाममा विधि र प्रक्रिया कमजोर होइन, अझ बलियो बन्नुपर्छ।’
