काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी छँदै पदबाट हटाइएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आईजीपीको कार्यकाल अझै १७ महिना बाँकी हुँदाहुँदै हटाउनुपर्ने बाध्यता सरकारलाई किन आइपर्यो भन्दै प्रश्न गरेका हुन् ।
उनले भोटेकोशी र बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकको पीडा, विस्थापित सुकुम्बासीको अवस्था र बढ्दो महँगीजस्ता समस्यालाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा प्रहरी प्रमुख हटाउने विषयलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।
आङ्देम्बेले आईजीपीलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताएको तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नभएको बताएको उल्लेख गर्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्नसमेत गरेका छन् ।
उनले प्रहरी अनुसन्धानका क्रममा बरामद गरिएको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन् । अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुर्याइयो र त्यसमा रहेको के मेटाउनुपर्ने थियो भन्दै उनले प्रश्न गरेका छन् ।
जनताले सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र नागरिकको जीवनस्तर सुधार गर्न वर्तमान सरकारलाई मत दिएको उल्लेख गर्दै आङ्देम्बेले सत्ता र शक्तिको दुरुपयोग तथा प्रहरी प्रशासनलाई नियन्त्रणमा राख्ने प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले आईजीपी हटाउने निर्णयलाई सुशासन नभई शक्ति प्रदर्शनको संज्ञा दिएका छन् ।
