एनपीएलमा विराटनगरको पहिलो जित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराउँदै विराटनगरले प्रतियोगितामा पुनरागमन गरेको हो ।

वर्षा कारण ५ ओभरमा छोट्याइएको खेलमा जितको लागि १ सय ६ रनको विशाल लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ७० रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले ६ ओभरमा ४ छक्का र एक चौकाको मद्दतमा नटआउट २८ रन बनाउँदा सैफ जैब र आरिफ शेखले समान १७/१७ रन बनाए ।

विराटनगरको लागि आन्द्रे रसेल, एन्जेलो म्याथ्युस र रुपेश सिंहले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । विराटनगरको लागि शेहान जयसूर्याले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक ३९ रन बनाए । यस्तै आन्द्रे रसेलले १० बलमा ३ छक्का र २ चौकाको मद्दतमा नटआउट २९ रन बनाउँदा लोकेश बमले २५ रन बनाए । उनले १० बलमा ३ चौका र एक छक्का प्रहार गरे ।

सुदूरपश्चिमको लागि अविनाश बोहोराले २ ओभरमा २८ रन दिएर २ विकेट लिए ।

जितसँगै विराटनगर ३ खेलबाट २ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट २ अंक जोडेको सुदूरपश्चिम छैटौँ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *