काठमाडौं । नेपाल प्रहरीले दुई पत्रकारलाई पक्राउ गरेको छ । अनलाइन सञ्चारमाध्यम डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत र नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । डीएनए खबरको फेसबुक पेज र युट्युबमा इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबिचको संवाद तथा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको विषयसम्बन्धी सामग्री प्रकाशित भएको थियो ।
यस्तै, सुवेदीलाई नेपाल प्रेसको समाचार कक्षबाटै सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएका हुन् । नेपाल प्रेसका अनुसार उनलाई पक्राउ पुर्जीबिनै कार्यालयमा प्रवेश गरी पक्राउ गरिएको हो ।
प्रहरीले बस्नेतलाई कुन विषयमा पक्राउ गरेको हो भन्नेबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन । दुवै पत्रकारको पक्राउसँग सम्बन्धित समाचार सामग्रीबारे प्रहरीले सोधपुछ गर्न खोजेको जनाइएको छ ।
