काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अचेल समाजमा ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौँमा ‘मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रम’मा अध्यक्ष ओलीले देवताहरूको जन्म र पार्वतीको श्रापसम्बन्धी प्रसङ्ग उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन्।
अध्यक्ष ओलीले २२–२३ सय वर्षअघि भगवानहरू छ्यास्छ्यास्ती जन्मिएको र तेत्तीसकोटी देवताको प्रसङ्ग जोड्दै ‘पार्वतीले श्राप दिएपछि देवताहरूको जन्म हुन बन्द’ भएको बताए।
उनले भने,‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यास्छ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन् । अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ।’
अध्यक्ष ओलीले नेपाली समाजमा दक्षिणतिरबाट आउने जोगीहरूलाई सहजै विश्वास गर्ने तर आफ्नै देशका विद्वानलाई पर्याप्त महत्त्व नदिने प्रवृत्ति रहेको बताए। उनले भने,‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ । आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ।’
