आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्छः महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।

सामाजिक संजालमार्फत महामन्त्री पौडेलले नागरिकलाई धरपकड गरेर पछि छाड्ने सरकारको रवैयाको समर्थन गर्न नसकिने बताएका हुन्। उनले गलत निर्णय सच्याउनुको सट्टा प्रश्न उठाउने नागरिकलाई तर्साउने काम नगर्न सरकारलाई सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड ! त्यो पनि मध्यरातमै! अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ! सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिदैन। लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो। यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त हुँदैन। योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता पनि हेर्नैपर्छ।’

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै पौडेलले विकास कोषको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत ध्यान दिनुपर्ने बताएका छन्।

उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै ती प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्। प्रश्नहरूको जवाफबिना सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न नसक्ने उनको भनाइ छ ।

उनले भनेका छन्, ‘आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन्। ती प्रश्नको जवाफबिना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ । सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन।’

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै पौडेलले राति–राति जाग्ने अहंकारलाई शासन नभई सनकको संज्ञा दिएका छन्। उनले गलत निर्णय सच्याउने साहस देखाउन र प्रश्न उठाउने नागरिकलाई तर्साउने काम बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *