एनपीएलमा चितवनको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार दिउँसो भएको खेलमा विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा अलआउट हुँदै १ सय ४९ रनमात्र बनाउन सक्यो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ छक्का र एक चौकासहित ३३ रन बनाए ।

७.५ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाउँदै सहज अवस्थामा रहेको विराटनगर रसेलको आक्रामक ब्याटिङपछि जिततर्फ अघि बढेको देखिएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा विराटनगरले लक्ष्य भेट्टाउन सकेन ।

विराटनगरका लोकेश बमले २६, एन्जेलो म्याथ्युजले १४, बासिर अहमदले १३ र शुभम रान्जानेले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् भने तीन खेलाडीले रनको खाता खोल्न सकेनन् ।

चितवनका लागि कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिँदा रञ्जित कुमार, टोम टेलर, डान मौस्ली र मौसम ढकालले समान एक विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, रवि बोपाराले अविजित ३२ र डान मौस्लीले अविजित २९ रनको योगदान दिए । देव खनालले १२ रन बनाए ।

विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए ।

जितसँगै चितवनले दुई अंक जोडेको छ । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *