काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । बिहीबारका लागि निर्धारित मतदान प्रक्रिया स्थगित भएपछि आज मतदान हुन लागेको हो ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै मतदानस्थलमा उपस्थित हुन आग्रह गरेको छ । मतदान बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ ।
मतदानपछि मतपेटिकाहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा लगिनेछ। त्यहाँ १२ देखि १३ स्थानमा एकैसाथ मतगणना गर्ने निर्वाचन समितिको योजना छ । मतगणनाका लागि पाँच सय कानुन व्यवसायीलाई तयारी अवस्थामा राखिएको छ ।
निर्वाचन समितिका अनुसार, बिहीबार साँझ मात्रै मतपत्र छपाइको काम सम्पन्न भएको थियो । महाधिवेशनमा ८५० जनाले उम्मेदवारी दर्ता गराएकाले उम्मेदवारीको वैधता परीक्षणमा समय लागेको र त्यसले मतपत्र छपाइमा ढिलाइ भएको समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
महाधिवेशनका लागि २३ प्रकारका मतपत्र तयार गरिएको छ । आवश्यक मतपत्रको संख्या एक लाख ८० हजार अनुमान गरिए पनि समितिले दुई लाख प्रति छपाइ गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिसक्ने बताएका छन् ।
