प्रज्जवल थापा । स्टार फर्वार्ड क्रिस्टियानो रोनाल्डो सम्मीलित युभेन्टस गत मंगलबार पोर्टोसँग पराजित हुँदै युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको थियो ।
युभेन्टस प्रतियोगिताबाट बाहिरिएपछि रोनाल्डोको भविष्यको बारेमा चौतर्फी समाचार आइरहेको छ । जसको कारणले सम्पुर्ण फूटबल समर्थकको ध्यान तानेको छ । सन् २०१८ मा युभेन्टसले च्याम्पियन्स लिग जित्ने सपनासहित प्रतियोगिताको सार्वधिक सफल खेलाडी रोनाल्डोलाई रियल म्याड्रिडबाट क्लबमा भित्र्याएको थियो । तर युभेन्टसको सपना सपनामै सिमित भयो । त्यसपछिको तीन वर्षमा युभेन्टसले क्वाटरफाइनल काट्न सकेन ।
रियल म्याड्रिडमा ९ वर्ष बिताउदा चार च्याम्पियन्स लिग उचालेका रोनाल्डोले युभेन्टसलाई भने युरोपेली फूटबलको सबैभन्दा ठुलो लिग जिताउन सकेका छैनन् । उनको सम्झौतामा अझै एक वर्ष बाँकी रहेको छ । तर क्लबले उनलाई यस सिजनको अन्त्यसँगै बेच्न चाहेको कुरा बाहिर आएको छ । यस सिजन घरेलु लिगमापनि युभेन्टस शिर्ष स्थानको इन्टर मिलान भन्दा १० अङ्कले पछि छ ।

कोरोना महामारीको कारण क्लबको आर्थिक स्थिति राम्रो नभएको अवस्थामा युभेन्टस रोनाल्डोलाई बेच्दै आफ्नो वेज बिल घटाउन चाहन्छ । युभेन्टसबाट सार्वधिक धेरै तलब लिने खेलाडीको सुचीमा शिर्ष स्थानमा रहेका रोनाल्डोले दोस्रो स्थानका मेथिस डि लाइटले भन्दा चार गुना बढी पारिश्रमिक लिने गरेका छन् ।
३६ वर्षिय रोनाल्डो रियल म्याड्रिड फर्किने सम्भावनाको बारेमा विदेशी सञ्चार माध्यमबाट विभिन्न हल्ला बाहिर आइरहेको छ । स्पेनिस पत्रकार जोसेप पेड्रेरोलले एल चिरिन्गुइटोमा भनेका छन्, ” जोर्ज मेन्डेसले रोनाल्डोलाई म्याड्रिडमा फर्काउने विषयमा कुरा गरिराखेका छन् ।” जोर्ज मेन्डेस रोनाल्डोका एजेन्ट हुन् । सन् २०१८ मा छुट्टिएदेखि दुवै क्लब र खेलाडीले सोचेअनुरुप प्रदर्शन गर्न सकेका छैनन् । जसको कारणले गर्दापनि रोनाल्डो क्लबमा भित्रिएको खण्डमा क्लबको नतिजामा सुधार आउने समर्थकले पूर्वानुमान गरेका छन् ।
तर रियल म्याड्रिडले आउने वर्षमा युवा खेलाडीद्वय इर्लिङ हालान्ड र कालियन एम्बाप्पेलाई क्लबमा भित्र्याउने खबर केहि समयदेखि बाहिर आइरहेको अवस्थामा रोनाल्डो फेरिपनि म्याड्रिड फर्किने सम्भावना गार्हो रहेको छ तर असम्भव भने छैन । गत सिजनपनि रोनाल्डो एल क्लासिको हेर्न म्याड्रिडको रंगशाला सान्टियगो बेर्नाबेउ आएका थिए ।
