बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।

मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउने क्रममा आज (मङ्गलबार) दिउँसो करिब २ः०० बजे आफूले प्रहार गरेको भरुवा बन्दुको गोली श्यामबहादुरको टाउकोमा लाग्दा श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको भलबहादुरले बताए ।

“मकैबारी दैनिकजसो बाँदर आउने गथ्र्यो । साथी (श्यामबहादुर) र म धपाउन गएका थियौँ”, उनले भने, “वल्लो डाँडा र पल्लो डाँडाबाट छेकारो काटेर धपाउने क्रममा मैले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेको थिएँ । त्यहीबेला साथी आइपुगेछ । बाँदरको ठाउँमा साथीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भयो ।”

बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैँले प्रहरीलाई फोन गरेर जानकारी गराएको भलबहादुरले बताए । भरुवा बन्दुक प्रहार गर्ने भलबहादुरले दिएको जानकारीको आधारमा प्रहरी चौकी खार्मीका टोली पुगेर घटनास्थललाई सुरक्षित गरेको जनाइएको छ ।

जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सर्जमिन गरेर मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिए  । खार्मीमा भएको घटनाका विषयमा जानकारी पाउनासाथ अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *