कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।

सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले  खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताए ।

उनले आज बिहान करिब तीन घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा ज्युलोमा बाढी पसेर खाद्यान्नबाली नष्ट गरेको जानकारी दिए ।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको केन्द्र आसपास भएर बग्ने सर्केगाड खोलामा पानीको बहाव बढ्दा बजार क्षेत्र तथा आसपासमा क्षति पुगेको छ ।

बजारमा व्यवसाय गर्दै आएका अदानचुली गाउँपालिका–१ का लक्ष्मण फडेराका अनुसार खोलामा पानीको बहाव बढेपछि आसपासमा समस्या देखिएको बताए ।

माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध भएको सर्केगाड प्रहरीचौकीका सहायक निरीक्षक जगदीशकुमार ऐरले बताए ।

पहिरोले बालीमा क्षति पु¥याउनुका साथै सडक अवरुद्ध भएकाले सडक खुलाउन गाउँपालिका र सम्बन्धित सडक निकायसँग समन्वय भइरहेको बताए  ।

लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ । कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।

कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चङ्खेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्म सडकका विभिन्न स्थानमा पहाडबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेको बताए ।

सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या पुगेको छ । पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउनेजाने यात्रु प्रभावित भएका छन् ।

कर्णाली करिडोर हुम्लालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख स्थलमार्ग हो । वर्षायाममा पहिरोका कारण करिडोर पटकपटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *