भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को ट्याङ्कर घटनास्थलबाट भागेको थियो। प्रहरीले पछ्याएर उक्त ट्याङ्करलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि पेट्रोलियम पदार्थ चोरीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
