‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने

कास्की । पोखरामा आगामी असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ ।

पोषण, प्रोटिन सचेतना, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआईए)को आयोजनामा हुने उक्त दौडमा नेपालसहित विभिन्न १० राष्ट्रका चार हजार १०६ धावक सहभागी हुने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

कार्यक्रम संयोजक समेज राजभण्डारीका अनुसार दौडमा नेपालसँगै भारत, चीन, संयुक्त राज्य अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इङ्ल्याण्डका धावक सहभागी हुनेछन् । दौड पोखरा लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर सोही मार्गबाट वसुन्धरा पार्कमै आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा हाफ म्याराथन पुरुषतर्फ ४०६ र महिलातर्फ ६४ जना सहभागी हुनेछन् । खुला पुरुषतर्फ १० किलोमिटर दौडमा ९८८ तथा खुला महिलातर्फ पाँच किलोमिटर दौडमा ३९७ जना सहभागी हुनेछन् । त्यस्तै, कक्षा १२ सम्मका युवातर्फ पुरुष पाँच किलोमिटर दौडमा एक हजार ६५८ र महिलातर्फ तीन किलोमिटर दौडमा ५५३ जना सहभागी हुनेछन् । ह्विलचेयर पुरुषतर्फ तीन किलोमिटरमा २४ र महिलातर्फ तीन किलोमिटरमा १६ जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा आठ विधाका उत्कृष्ट पाँच–पाँच धावकलाई गरी कुल रु १६ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रोटिनको पर्याप्त मात्रा, गुणस्तर तथा उपलब्धताका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१९ देखि ‘राइट टु प्रोटिन रन’ अभियान सञ्चालन हुँदै आएको हो ।

“यस वर्षको कार्यक्रममार्फत अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनिर, दाल तथा गेडागुडीजस्ता प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । साथै शारीरिक सक्रियता र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन सहयोग पुग्नुका साथै उत्कृष्ट खेलाडी उत्पादन, नयाँ तथा उदीयमान धावकलाई अवसर प्रदान गर्नेछ । यसबाट पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्न पनि सहयोग गर्ने अपेक्षा गरिएको छ”, संयोजक भण्डारीले भने ।

पोषणसम्बन्धी छलफललाई सभा तथा सम्मेलनमा मात्र सीमित नराखी समुदायस्तरसम्म पु¥याउने उद्देश्यले दौड आयोजना गरिएको हो ।

यसैबीच, यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिको पुनःस्थापनाका लागि एनएफआईएको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन करोड १७ लाख ८४ हजार सहयोग गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल एथलेटिक्स सङ्घले प्राविधिक सहयोग गर्नेछ भने नेपाली युवा उद्यमी मञ्च पोखरा, नेपाल ह्याचरी उद्योग सङ्घ, नेपाल लेयर्स कुखुरापालक सङ्घ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, लायन्स क्लब र नेपाल पोल्ट्री महासङ्घलगायत विभिन्न सङ्घसंस्थाको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *