प्रज्जवल थापा । युईएफए युरोपा लिगमा आज इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड र एसी मिलान भिड्दै छन् । अन्तिम १६ अन्तर्गत ओल्ड ट्राफोर्डमा हुने पहिलो लेग नेपाली समय अनुसार राति ११:४० बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै युनाइटेड पहिलो लेगमा अग्रता बनाउन चाहन्छ । युनाटेडले अन्तिम ३२ मा स्पेनिस क्लब रियल सोसिडाडको चुनौती पन्छाउदै प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पछिल्लो खेलमा सहरी प्रतिद्वन्दी म्यान्चेस्टर सिटीको २१ खेलको अपराजित यात्रा टोडेको युनाइटेड उच्च मनोबलका साथ मैदान उत्रिनेछ । घरेलु लिगमा युनाइटेड शिर्ष स्थानको सिटीभन्दा १४ अङ्कले पछि रहँदै दोस्रो स्थानमा छ ।
यता मिलनपनि आजको खेलमा सकरात्मक नतिजा निकाल्दै घर फर्कन चाहन्छ । युनाइटेडका पुर्व खेलाडी जाल्टन इब्राहिमोभिच मिलानको लागि आजको खेलमा उपलब्ध हुनेछैनन् । पछिल्लो खेलमा हेल्लस भेरोनालाई २-० गोलले पराजित गरेको मिलान घरेलु लिगको दोस्रो स्थानमा रहेको छ । मिलानले अन्तिम ३२ मा एफके क्र्वेना जेज्डालाई अवे गोलको आधारमा पराजित गरेको थियो ।
युनाइटेड र मिलानबिच भएको पछिल्लो दुई भेटमा दुवै खेल युनाइटेडले जितेको थियो ।
