बौद्धिक मित्रहरू मुख खोल्नुस्

-डा. युवराज संग्रौला ।

‘देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ’ सन् २००५ पिएचडीको अनुसन्धानका सिलसिलामा म डेनमार्कमा थिएँ । मेरो होस्टल सडक सँगै जोडिएको थियो, र बाटोको पारिपट्टीको कुनामा एउटा ग्रोसरी थियो, एकजना अफगानी युवाको । खाने कुरा किन्ने क्रममा चिनजान भयो मित्रता भयो । उनी मलाई भाइसाहेब भन्थे । ग्राहक नभएका समयमा उनी र म बाहिर कुर्सीमा बसेर गफिन्थ्यौं । उनी आफ्नो देश फर्किने सपना देख्थे र आँखामा पानी भरिन्थ्यो । ‘यु आर लक्की मेन यु ह्याभ युअर कन्ट्री टु गो।’ मलाई उनको भावनाले धेरै छोएन, कहिलेपनि । किनकी देश नहुँदा कस्तो हुन्छ मलाई थाहै थिएन, वा देश नहुँदाको अनुभूति नै थिएन । तर आजभोलि मलाई नातिनीलाई हेरेर गजबको पीडा महसुस हुन्छ, यदि हाम्रो बाँदर प्रवृत्तिले देश सखाप भयो भने उसको जीवन कस्तो होला !

के होला र कुनै न कुनै विदेश गैहाल्ली नि । हो तर त्यहाँ उसका पुर्खाको खरानी, चिहान, माटो, हड्डी हुँदैन । ऊ दोस्रो दर्जाकी ‘बसाइँ सरेर आएकी मानिस हुन्छे । उको नेपाली पहिचान देश बिनाको पहिचान हुनेछ।“
देश एक वर्षदेखि ‘जत्था उन्माद’ को शिकार भएको छ। म निरीह जस्तो लाग्छ। कहिले कहिले बोकेदारी पालेको फोटो हालेको अराजक युवा भन्छ, ‘अब चुप लाग, यो देश युवाको हो।’

आज पनि देश जल्दै छ । धर्मका नाममा मारकाट हुँदैछ । हिजो दनदनी सिहदरबार जल्यो, म त्यो हेर्न विवस थिएँ । सिंहदरबारको भवन मात्र जलेको थिएन, मेरो गौरव जलेको थियो। निर्वाचन भयो, ‘पुराना सबै बडारिए। म पनि स्वतन्त्र उम्मेदवार भएर चुनाव लडें । तपाईँ एक्लैले के गर्नुहुन्छ भन्थे । मैले यो फोहोरी उदारवादको निर्वाचनलाई नाङ्गो देखें । मानिसमा उन्माद थियो । मलाई हारजितसँग सरोकार थिएन । म लोकतन्त्र नामको यो फोहोरी राजनीतिलाई अनुभूति गर्न चाहन्थें । राम्रोसँग देखें र लाग्यो “एक दिन यसैले देश समाप्त पार्नेछ।’

आज देख्दैछु, ‘देशमा नेपाली होइन, हिन्दू, मुसलमान, बौद्ध, इसाइ, राधे राधे, साइबाबा, के के छन् के के । नेपाली त दोस्रो पहिचान मात्र हो। फेरि बाहुन, क्षेत्री, राई, लिम्बु, गुरुङ्ग, यादव, झा आदि छन् । नेपाली त दोस्रो पहिचान मात्र छ। त्यो ‘नेपाली पहिचान त पासपोर्टका लागि मात्र चाहिएको हो।’

मेरी आमा र म बुबाको किरियामा बस्यौं । आमाले भन्नु भो, ‘बुबाको चैं सबै रित पुर्याएर गर, मेरो चैं दुःख गर्नुपर्दैन। म आफैँले गरिसकेकी छु। मातृभूमि र जननी दुईजना आमा हुन्छन् । म मेरे पनि यो मातृभूमि छ, मेरो श्राद्धमा ब्रत अनाज नखाई पानी दिनु, त्यति भए पुग्छ।’ आमा बित्नु भो, म हुर्किएको मानिसलाई पनि टुहुरो भएको अनुभूति भयो, ‘तर आमाको भनाइ सम्झे आफ्ना मातृभूमिमा बस्ने कहिल्यै टुहुरो हुँदैन।’ हवाई जहाजको यात्रा हुँदा लाग्छ, यो खसेर मरियो भने पनि आफ्नो माटो नसकिंदै वा आफ्नो माटोमा पसे पछि खसे हुन्थ्यो।

तर आज यो देश बेहाल पार्ने ‘भ्रष्ट र उन्मादीका’ करतुत हेर्दा मन रुन्छ । देशमा धर्म र जात अनि भूगोलको नाममा आतंक मच्चाउनेको करामत हेरेर भन्न मन लाग्छ, जुन दिन देश हुन्न तब थाहा पाउनेछौ देश के हो । ‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्’ (यो जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी) भन्ने अमर उक्ति रामायणको प्रसङ्ग हो। सुनको लङ्का र श्रीरामको फैसलाको कथा छ। एकछिन विचार गरौं न। ‘एउटा मानिससँग अपार धनसम्पत्ति, भव्य दरबार, र संसारका सम्पूर्ण सुख–सुविधा छ। तर, यदि उसको आफ्नो पहिचान र आफ्नै घर (देश) छैन।’

त्यो वैभवको के अर्थ ? लङ्कामा युद्ध समाप्त भएपछि, लङ्काको सुन्दरता, सुनैसुनले बनेका भवनहरू र वैभव देखेर लक्ष्मण मोहित भएछन् । अनि दाजु श्रीरामसँग भनेछन् । ‘दाजु ! यो लङ्का कति भव्य र समृद्ध छ ! अयोध्याभन्दा पनि राम्रो र वैभवशाली यो नगरीलाई छाडेर हामी किन पुनः वनवास र साधारण अयोध्या फर्कने ? हामी यहीँ बसौँ न !’

रामले लक्ष्मणलाई जुन जवाफ दिए, त्यसले सम्पूर्ण मानव जातिलाई देश र मातृभूमिको मूल्य बुझाउंछ। रामले भनेः ‘अपि स्वर्णमयी लङ्का न मे रोचति लक्ष्मण। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।।’ ‘हे लक्ष्मण ! यो लङ्का सुनैसुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकी जन्म दिने आमा र जन्म दिने भूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

यस प्रसङ्गले मानिसलाई तीन वटा गम्भीर कुरा सोच्न बाध्य बनाउँछः
पहिचान र शरणार्थीको पीडाः यदि आफ्नो देश नै रहेन भने, मेरो मित्र अफगानीको अवस्था हुन्छ। शायद शान्ति पछि ऊ अवश्य फर्कियो। मानिससँग जतिसुकै धन वा आफ्नै आमाबाबु भए पनि उसले संसारको नजरमा ‘नागरिकता नभएको’ वा ‘शरणार्थी’ को बिल्ला भिर्नुपर्छ । अरूको देशमा बस्नुपर्दा पाइने दया र हेलाले मानिसलाई आत्मसम्मानविहीन र ‘टुहुरो’ बनाउँछ।

भौतिक सुख भन्दा आत्मसम्मान ठूलो हुन्छ। अरूको देश वा ठाउँ जतिसुकै धनी र सुविधासम्पन्न (सुनको लङ्का जस्तै) भएपनि, आफ्नो मातृभूमिको धुलोमा जुन अपनत्व र स्वतन्त्रता हुन्छ, त्यो अन्यत्र कतै पाइँदैन।
त्यसैले धर्मका नाममा कसैको प्यादा बनेर मार्न र मर्न तयार मित्रहरु सोच्नुहोस् । तपाईँको देश समाप्त पार्न कोही खेल खेल्दै छ। जुन दिन यो थाहा हुने छ ‘न त हिन्दू भनिनेसँग न त मुसलमान भनिने सँग बस्ने देश हुनेछ।’ हालत अहिले जंगलबाट गाउँ पसेका लुतो लागेका बाँदरको जस्तै हुनेछ । बौद्धिक मित्रहरू मुख खोल्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *