काठमाडौँ । युवा पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश श्रेष्ठले ठमेल पर्यटन विकास परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । परिषद्को ३१औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते (११ जुलाई) काठमाडौंमा हुने निर्वाचनमा श्रेष्ठ उपाध्यक्ष पदका प्रत्याशी बनेका हुन् ।
काभ्रेपलाञ्चोकको कोसीपारीस्थित सिम्थलीबाट पर्यटन व्यवसायमा यात्रा सुरु गरेका श्रेष्ठले ठमेलको पर्यटन तथा आतिथ्य क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । उनले सुरक्षित, व्यवस्थित, प्रविधिमैत्री, लगानीमैत्री तथा विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा ठमेलको विकास गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
श्रेष्ठले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको अभियान भन्दा पर्यटन क्षेत्रको पुनर्जागरणको अभियानका रूपमा अघि बढाएको बताए ।
कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीबाट प्रभावित पर्यटन व्यवसायलाई पुनर्जीवित गर्ने, व्यवसायीबीच विश्वास र सहकार्यको वातावरण सुदृढ बनाउने, नयाँ पुस्ताको नेतृत्वलाई संस्थागत गर्ने तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि थप सुरक्षित र आकर्षक ठमेल निर्माण गर्ने उनका प्रमुख एजेन्डा रहेका छन्।
ठमेलको सुरक्षा व्यवस्थापन, पर्यटनमैत्री वातावरण निर्माण, व्यवसायीको हकहित संरक्षण तथा आधुनिक व्यवस्थापन प्रणालीका पक्षमा निरन्तर सक्रिय रहँदै आएका श्रेष्ठको उम्मेदवारीलाई स्थानीय व्यवसायी, घरधनी, अग्रज पर्यटनकर्मी तथा युवा व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन्। उनको नेतृत्वले ठमेलमा नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी कार्यसंस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।
