नयाँदिल्ली । मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुर्याउन खोजिएको आरोप लगाउँदै भारतका विपक्षी दलले सोमबार सर्वोच्च अदालततर्फ र्याली निकालेका छन् । यसअघि सप्ताहन्तमा प्रहरीले हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन थप चर्किएको हो ।
विपक्षी सांसद र उनीहरूका समर्थकले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रधानन्यायाधीशसमक्ष निवेदन बुझाउने प्रयास गरेका थिए ।
गत वर्ष निर्वाचन अधिकारीले मतदाता सूची पुनरावलोकन प्रक्रिया सुरु गरी १३ करोडभन्दा बढी मतदाताका नाम हटाएको घटनापछि भारतमा विरोध प्रदर्शन चर्किएको छ । ‘कक्रोच’नामक युवा आन्दोलनको नेतृत्वमा भइरहेको प्रदर्शनमा सहभागीले उक्त प्रक्रियाको विरोध गर्दै आएका छन् ।
आलोचकले मतदाता सूची पुनरावलोकन राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यस प्रक्रियाले वास्तविक र योग्य मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न सक्छ ।
प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) र निर्वाचन आयोगले मतदाता सूचीमा हेरफेर गरिएको आरोप अस्वीकार गरेका छन् । उनीहरूले दोहोरिएका तथा अयोग्य मतदाताका नाम हटाउन सूची पुनरावलोकन आवश्यक रहेको दाबी गरेका छन् ।
विरोध प्रदर्शनलाई ध्यानमा राख्दै अधिकारीले सोमबार नयाँ दिल्लीका छवटा मेट्रो स्टेसन बन्द गरेका थिए । साथै, प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको थियो ।
भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले विरोध प्रदर्शनलाई संविधानको रक्षाका लागि भइरहेको सङ्घर्षका रूपमा व्याख्या गरेका छन् ।
“हामी पछि हट्ने छैनौँ,” गान्धीले नयाँ दिल्लीमा पत्रकारसँग भने ।
यसअघि सप्ताहन्तमा प्रहरीले नयाँ दिल्लीमा ‘कक्रोच’ आन्दोलनका नेतासहित हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । यही समूहको नेतृत्वमा गत जुलाईमा भएको विरोध प्रदर्शनपछि मोदी सरकारका शिक्षामन्त्रीले राजीनामा दिनुपरेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री मोदीले पछिल्लो विरोध प्रदर्शनबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उहाँको दलका नेताले प्रदर्शनको आलोचना गरेका छन् । केही नेताले प्रदर्शनकारीलाई ‘अराजकतावादी’ भनेका छन् ।
मतदाता सूची पुनरावलोकनको विषयले भारतमा निर्वाचनको निष्पक्षता, मताधिकारको सुरक्षा र निर्वाचन आयोगको भूमिकाबारे राजनीतिक विवाद थप चर्काएको छ ।
