नवलपरासीमा शंकास्पद वस्तु काट्दा विस्फोट, दुई जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान नारायणी नदीको किनारमा फेला परेको शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट भएको हो ।

मध्यबिन्दु नगरपालिका–३ ब्रह्मस्थान निवासी ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदी किनारमा उक्त वस्तु फेला पारेका थिए । बाहिर डोरीजस्तो वस्तुले बेरिएको र भित्र फलामजस्तो देखिने बेलनाकार उक्त वस्तु करिब दुई फिट लामो र १४ इन्च गोलाइको रहेको बताइएको छ ।

बोटेले उक्त वस्तु घरमा ल्याएपछि सोमबार बिहान करिब ११ः२० बजे भारतको मोतिहारी घर भई हाल कावासोती–८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले काट्ने प्रयास गरेका थिए । सोही क्रममा वस्तु अचानक पड्किएको थियो ।

विस्फोटमा परी दुवै जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

विस्फोट भएको वस्तु के थियो भन्ने खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *