एजेन्सी । फिफा विश्वकप २०२६ मा स्विडेनले फराकिलो जितसहित शानदार शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा स्विडेनले टुनिसियालाई ५-१ गोलले पराजित गरेको हो ।
मोन्टेरी स्टेडियममा भएको खेलमा स्विडेनलाई जित दिलाउन यासिन आयारीले दुई तथा भिक्टर ग्योकेरेस, एलेक्सान्दर इसाक र माट्टिस स्भान्बेर्गले समान एक/एक गोल गरे । टुनिसियाको लागि ओमार रेकिकले एक गोल फर्काए । खेलको सातौँ मिनेटमा आयारीले गोल गर्दै स्विडेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
३० औँ मिनेटमा ग्योकेरेसको पासमा इसाकले गोल गर्दै स्विडेनको अग्रता दोब्बर बनाए । ४३ औँ मिनेटमा मेज्ब्रीको क्रसमा रेकिकले गोल गर्दै टुनिसियालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ५९ औँ मिनेटमा इसाकको पासमा ग्योकेरेसले गोल गर्दै स्विडेनलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।
८४ औँ मिनेटमा इसाकको पासमा स्भानवर्गले गोल गर्दै स्विडेनलाई ४-१ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा आयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई ५-१ गोलको जित दिलाएका हुन् ।
जितसँगै समूह ‘एफ’मा रहेको स्विडेनले तीन अंक जोडेको छ । आजै भएको समूह ‘इ’को खेलमा इभोरी कोस्टले इक्वेडरलाई १-० गोलले हराएको हो । इभोरी कोस्टलाई जित दिलाउन अमाद डिएल्लोले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै इभोरीकोस्टले तीन अंक जोडेको छ ।
आज हुने अन्य खेलहरु
स्पेन विरुद्ध केप भेर्डे ( राति ९:४५ बजे)
बेल्जियम विरुद्ध इजिप्ट (राति १२:४५ बजे)
