काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका भनिएका करका दर हेरफेरका विषयमा कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा अर्थमन्त्री वाग्लेले मानवीय र प्राविधिक त्रुटिलाई नीतिगत भ्रष्टाचारको रूपमा व्याख्या नगर्न आग्रह गरे । उनले कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्न आग्रह गरे ।
उनले छानबिनमा सघाउने बताए । उनले बजेटको मस्यौदा तयार गर्दा साना प्राविधिक त्रुटिहरू हुनु स्वाभाविक भएको बताए । अर्थमन्त्री वाग्लेले बजेटका १६ पाना गायब भएको वा परिवर्तन गरिएको भनिएको विषयलाई फम्र्याटिङको प्राविधिक समस्या भएको बताए ।
कोलमको चौडाइमा १–२ मिलिमिटरको हेरफेरले पेज सङ्ख्या तलमाथि भएको तर विषयवस्तु (कन्टेन्ट) मा कुनै फेरबदल नभएको उनको भनाइ थियो । आफू अर्थ मन्त्रालयको नेतृत्वका नाताले कर्मचारीहरूबाट भएका त्रुटीको नैतिक जिम्मेवारी लिने र जुनसुकै प्रश्नको उत्तर दिन तयार रहेको प्रतिबद्धता जनाए ।
उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए । उनले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु । यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?’
