पेशावर । उत्तर–पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार २७ विद्यार्थी र एक जना शिक्षकको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। भग्नावशेषमुनि अझै केही विद्यार्थी पुरिएको आशङ्कामा उद्धार कार्य जारी छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले विज्ञप्ति जारी गर्दै घटनामा भविष्यका कर्णधारहरुको बहुमूल्य जीवन गुमेको घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गरेका छन् ।
२४ करोडभन्दा बढी जनसङ्ख्या भएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगका कारण भवन वा छाना खस्ने घटनाहरू पटक–पटक हुने गरेको जनाइएको छ ।
यस वर्षको जुन महिनामा पूर्वी सहर लाहोरस्थित एक ट्युसन केन्द्रमा छाना खसेर भएको दुर्घटनामा एक दर्जनभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।
सन् २०२५ मा, दक्षिणी सहर कराँचीको गरिबी बस्ती लियारीमा पाँच तले भवन भत्किँदा २७ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
भग्नावशेषबाट पीडितहरूलाई निकाल्नको लागि उद्धार प्रयास भइरहेको जनाइएको छ भने प्रहरीले विद्यदालय भवन भत्किनुको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको बताएको छ ।
