लन्डन । राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गरेका छन् ।
राजा चाल्र्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पारेका छन् । दरबारले गत सेप्टेम्बरमा उहाँहरूलाई राजपरिवारका विशेष सम्बोधन प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा गर्न निर्देशन दिएको थियो । दम्पतीको लोकप्रियताले सक्रिय राजपरिवारका सदस्यसँग सञ्चारमाध्यमको ध्यान र जनसमर्थनका लागि प्रतिस्पर्धा गर्न सक्ने चिन्ता दरबारका केही अधिकारीमा रहेको बताइएको छ ।
भ्रमणमा युवाको सीप विकास गर्ने कम्युनिटी रेकर्डिङ स्टुडियो, खाद्य सहायता केन्द्र हिम्मा र सुविधाबाट वञ्चित युवालाई खेलकुद तथा शिक्षा उपलब्ध गराउने एपिक पार्टनर्स समावेश छन् । ह्यारी एक दशकभन्दा बढी समयदेखि दुई संस्थासँग आबद्ध छन् भने मेघनले सन् २०१८ मा प्रकाशित पुस्तकमार्फत हिम्मासँग सहकार्य गरेका थिए ।
राजकीय जिम्मेवारी त्यागेर छ वर्षअघि क्यालिफोर्निया सरेका दम्पतीले त्यसपछि नेटफ्लिक्स र स्पोटिफाईसँग व्यावसायिक सम्झौता गरेका थिए । मेघनको मानसिक स्वास्थ्यप्रति दरबारले संवेदनशीलता नदेखाएको तथा राजपरिवारका केही सदस्यले जातीय विभेद गरेको आरोप लगाएपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।
पछिल्ला महिनामा भने सम्बन्ध सुधारको सङ्केत देखिएको छ । ह्यारीले पिता राजा चाल्र्ससँग मेलमिलाप गर्न चाहेको र आफ्ना छोराछोरीले हजुरबुवालाई चिन्ने अवसर पाऊन् भन्ने इच्छा व्यक्त गरेका छन् । सन् २०२४ मा क्यान्सर पत्ता लागेपछि राजा चाल्र्सको उपचार भइरहेको छ ।
ह्यारी र मेघन आफ्ना दुई छोराछोरीसँगै अक्सफोर्डको पश्चिममा रहेको कोट्सवल्ड्सको ग्रामीण क्षेत्रमा बस्दै आएका छन् । यद्यपि, बेलायत फर्किएपछि पनि सुरक्षा विवाद कायम छ । राजकीय जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट उपलब्ध हुने प्रहरी सुरक्षा पुनः उपलब्ध गराउन ह्यारीले माग गर्दै आएका छन् । आफ्नो शाही हैसियतका कारण परिवार जोखिममा परेको उनको भनाइ छ । सुरक्षा समस्याका कारण छोराछोरीले नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमै विद्यालय परिवर्तन गर्नुपरेको थियो ।
