सिद्धार्थनगर । रूपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन् । सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा पनि थापासँगै पराजित भएका उनका निकटतम् प्रतिस्पर्धी शक्तिप्रसाद गौचनले यसपटक ४९ मत प्राप्त गरेका थिए । निर्वाचनमा १२६ मतदातामध्ये ११९ मत खसेको थियो ।
मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार उपाध्यक्षमा खेमराज भुसालले ६९ मत, सचिवमा उदयकुमार मल्लिकले ६८, कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले ७७ र महिला सदस्यमा उमा अधिकारीले ७७ मत मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य पदमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, विजयसिंह ज्ञवाली, मनोज भण्डारी, अन्तिम थापा, ज्वालेशप्रसाद प्रधान, भुवन पाण्डे, ताराप्रसाद पाठक र कृष्णकुमार कुँवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदमा निर्वाचित भएपछि थापाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, “यसअघिको अनुभवलाई समेटेर नवनिर्वाचित टिमसहित सम्पूर्ण शुभचिन्तक तथा खेलप्रेमीको साथ सहयोग लिएर समग्र क्रिकेट खेलको विकास एवं विस्तारमा समर्पित हुनेछु । भैरहवा–बुटवल क्षेललाई क्रिकेटको हबका रूपमा विकास गर्ने सोचसहित रूपन्देही जिल्लाको क्रिकेटको विकास, खेलाडी उत्पादन तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर नवनिर्वाचित सङ्घ अघि बढ्ने स्पष्ट गर्दछु ।”
