एजेन्सी । विंगर मिचेल ओलिसेको ह्याट्रिकको मद्दतमा फ्रान्सले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा नर्थन आयरल्याण्डलाई ३-१ गोलले पराजित गर्दै फ्रान्सले विश्वकपको तयारी सकेको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन ओलिसेले ह्याट्रिक पूरा गर्दा आयरल्याण्डको लागि प्याट्रिक केलीले एक गोल फर्काए । खलेको ४३ औँ मिनेटमा ओलिसेले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ४९ औँ मिनेटमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
६४ औँ मिनेटमा केलीले गोल गर्दै नर्थन आयरल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७५ औँ मिनेटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर फ्रान्सलाई ३-१ गोलको जित दिलाएका हुन् ।
फिफा विश्वकपको समूह ‘आई’मा रहेको फ्रान्सले १७ जुनमा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ ।
यस्तै गएरातिनै भएको अर्को खेलमा नेदरल्यान्ड्सले उज्वेकिस्तानलाई २-१ गोलले पराजित गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पोले दुवै गोल पेनाल्टीमा गरे । उज्वेकिस्तानको लागि इगोर सेर्जिवले सान्तवना गोल गरे ।
फिफा विश्वकपको समूह ‘एफ’मा रहेको नेदरल्यान्ड्सले १५ जुनमा जापानसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । यस्तै समूह ‘के’मा रहेको उज्वेकिस्तानले पहिलो खेल १८ जुनमा उज्वेकिस्तानसँग खेल्नेछ ।
