-सुरेश अधिकारी ।
‘मलाई पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा भो, ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ ।’
१) प्रधानमन्त्री भएपछि मात्रै थाहा हुने कुरा हामी सबैलाई न भन्नुभएको भए हुन्थ्यो, तपाईँ प्रधानमन्त्री बन्नु भो थाहा पाउनुभो । भविष्यमा पनि अरु प्रधानमन्त्री हुनेहरुले थाहा पाउँदै जान्थे होलान् । पहिलेकाले कसैलाई भने र ? गोपनीयताको शपथ उल्लंघन भयो कि प्रधानमन्त्रीज्यू ।
२) जनताले पनि सुसूचित हुन पाए राम्रै भो भन्ने पाटो पनि छ । तै पनि यो ‘धेरै ठाउँमा’ भनेर जोड्नु अर्को ठूलो tongue sleep भयो । बरु ‘धेरै ठाउँ मा’ को सट्टा ‘कतै कतै’ भन्नू पथ्र्यो कि ? धेरै भन्नाले त व्यापक भन्ने अर्थ पनि लाग्छ । अब कति ठाउँमा भनेर भारतीय पक्षले सोधे के भन्नू ? माने भञ्ज्याङ्ग देखाउनु कि धनगढी ? सन्दकपुर र दार्चुला कसरी सुरक्षित राख्नु ? सुस्ता पनि मिचेकै हो भन्नू कि हैन भन्नू ?
३) यस भनाईको सकारात्मक पाटो पनि छ, भारत जस्तो खुल्ला सिमाना साझा गरेको एक अत्यन्तै निकट छिमेकी मुलुकप्रति आमनेपाली जनतामा भएको तीव्र नकारात्मक मानसिकतालाई मत्थर गर्न र स्वयम् भारतलाई पनि हाम्रो सीमा सरोकारको बिषयमा सकारात्मक बनेर विवाद समाधानतर्फ एक कदम अग्रसर बन्न प्रेरित गर्न सक्छ यो भनाईले । तर उसले आजसम्म कहीँ कतै नेपालको जग्गा मिचेका छौ भन्ने स्वीकारोक्ति नगरेको अजस्थामा वार्ताको टेबलमा हाम्रो स्थिति नाजुक बनाउन पनि सक्छ यस्तो स्वीकारोक्तिले ।
४) यो सब हुँदाहुँदै तपाईँले प्रयोग गर्नु भएको शब्दावलीमा तपाईको बचाउको लागि दुई महत्वपुर्ण ठाउँहरु पनि छन् । जस्तो तपाईँले ‘जग्गा मिचेको रहेछ’ भन्ने भाषा प्रयोग गर्नु भएको छ । एक त ‘सीमा मिच्नु’ र ‘जग्गा मिच्नु’ आकाश पाताल फरक कुरा हो । जग्गा व्यक्तिले मिच्छ, सीमा राज्यले बलजफ्ती मिच्छ । हाम्रो लिम्पियाधुरा लिपुलेकमा सीमा मिचिएको हो । तपाईँले भन्नू भएको नेपालले जग्गा मिचेको हो । कतै कतै साच्चै मिचिएका दुईचार कट्ठा धुर जग्गाको विवाद मिलाएर या दिएर हाम्रो मिचिएको सीमा सबै फिर्ता पाइन्छ भने यो धेरै राम्रो कुरा हो । अर्को ‘रहेछ’ भन्ने शब्दले ठोकुवा गर्दैन कि छ भनेर, रहेछ भन्ने शब्दले कोही कसैले जानकारी गराएको वा आफूलाई थाहा हुन आएको भन्ने अर्थ राख्छ । तर जानकारी गराएको वा थाहा पाएको कुरा ‘पूर्ण सत्य’ नहुन पनि सक्छ । पहिलो जानकारीमा बुझेका वा थाहा पाएका कतिपय कुरा पछि बुझ्दै जाँदा गलत र झुठ पनि हुन सक्छन् वा तपाईंले आफूलाई कसैले झुठो वा गलत जानकारी गराएको तर त्यसको पुष्टि हुन बाँकी छ भन्ने दावी पनि गर्न सक्नुहुन्छ ।
५) यी सबैको अलावा तपाईँको भनाईमा रहेको मुख्य त्रुटी भने ‘नेपालले’ भन्ने शब्दावली मा छ । कुनै नेपाली किसानले आफ्नो हक भोग नपुग्ने दशगजा ( तटस्थ क्षेत्र ) वरीपरिका जग्गा भोगचलन गर्यो होला त्यसलाई नेपालले मिचेको भन्न पाइन्छ ? नेपालले त्यसरी धेरै ठाउँका भारतीय जग्गामा जबरजस्ती कुनै संरचना बनाएर वा कुनै पनि तबरले हडपेको छ ? त्यो पनि धेरै ठाउमा ? हो यस्ता अप्ठ्यारा प्रश्न उब्जाउन सक्ने तपाईँको भाषालाई थोरै सच्याउनतिर लाग्नु राम्रो हुन्छ कि ? उदाहरणको लागि “मैले सुनेको छु नेपाल भारतका सीमा क्षेत्रमा नेपाल मात्रै हैन भारतका केही जग्गाहरु पनि मानिसहरुले मिच्ने गरेका छन् । यो दुबै देशको साझा समस्या हो“ । हामी सबै मान्छे हौं मान्छेको बोली मा कहिलेकाही त्रुटी हुनु अतिसामान्य कुरा हो ।
६) तपाईँले यस्तो गम्भीर कुरा बोल्नुमा १०० प्रतिशत पनि केही खास उद्देश्य छ । तर हामी नेपाली आमजनताको बानी ब्यहोरा यत्ति खराब छ कि हर व्यक्ति र हर काम कुराको मुल्याङ्कन ‘गुण दोष’ केलाएर हैन ‘आफ्नो र अर्काको’ हेरेर गर्छौ । तपाईँका विरोधीहरु तपाईंले भन्नुभएको ‘नेपाल भारत चीन मात्रै हैन ब्रिटिस पक्ष समेत राखेर संवादको पहल गर्दैछ सरकार भन्ने महत्वपूर्ण कुरा लुकाएर यसै त्रुटी भेटिएको भनाईलाई मात्रै हतियार बनाएर आफू मात्रै देशभक्त बन्दै रास्वपा पार्टी र तपाईँलाई कसरी सिध्याउने भन्ने मिशनमा छन् । अर्कोतिर तपाईँका समर्थकहरु सीमा क्षेत्रमा क्यामेरा र बुम लिएर मार्चपास गर्दैछन् र यस्तो सामग्री बनाउन होडबाजी गर्दैछन् कि नेपालले भारतको धेरै ठाउँका जग्गा मिचेको छ । भारतमाथि पनि नेपालले धेरै अत्याचार गरेको छ । अहिले उनीहरुलाई चुनौती छ कि जसरी पनि प्रमाणित गर्नु पर्यो कि ‘हाम्रा बालेन’ त्यत्तिकै कुनै कुरा बोल्नु हुन्न, ‘जे बोल्नुहुन्छ सही बोल्नुहुन्छ’ । यो भद्रगोलमा नेपाल भारत सीमा क्षेत्रको शान्ति सुव्यवस्था खलबलिन सक्ने कुरामा नेपाल र भारत दुबै सरकार कडा सतर्कता अपनाइरहेका होलान् भनेर विश्वास गर्छु म चाहिँ ।
