प्रधानमन्त्रीको कूटनीतिक स्वागतबारे विपक्षीको टिप्पणीप्रति ज्वाला संग्रौलाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले प्रधानमन्त्री बालेन साहले संयुक्त राष्ट्रसंघको महासभा भ्रमणका क्रममा अमेरिकामा भएको कूटनीतिक स्वागतलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीको प्रतिवाद गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद संग्रौलाले प्रधानमन्त्रीको स्वागत र तामझामलाई लिएर खिसिट्युरी गर्नुको सट्टा विगतको नेतृत्वले देशको अन्तर्राष्ट्रिय छवि कस्तो बनायो भन्ने समीक्षा गर्न विपक्षी दलहरूलाई आग्रह गरिन् ।

उनले चार दशकसम्म सत्ता सम्हालेका नेताहरूले नेपालको अन्तर्राष्ट्रिय छवि कमजोर बनाएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीको कूटनीतिक मर्यादाबारे प्रश्न उठाउनु आश्चर्यजनक भएको बताइन् ।

उनले भनिन्, ‘चार दशकसम्म निरन्तर सत्ता सम्हालेर देशको अन्तर्राष्ट्रिय छवि नै शून्यमा पुर्याउनेहरूले भर्खरै प्रधानमन्त्री सम्हालेको बालेन साहको कूटनीतिक मर्यादाको चिन्ता गर्नु अचम्म छ ।’

प्रधानमन्त्रीको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग जोडेर टिप्पणी गरिएको विषयमा पनि संग्रौलाले प्रश्न उठाइन् । उनले बालेनभन्दा अघिका नेतृत्वले देशलाई कुन अवस्थामा पुर्याएका थिए भन्ने विषयमा पनि मनन गर्नुपर्ने बताइन् ।

‘सी चिनफिङभन्दा अगाडिका नेताले देशलाई कस्तो बनाएका थिए ? बालेनभन्दा अगाडिका नेताले देशलाई कस्तो बनाएका थिए, यो मनन गर्ने कि नगर्ने ?’ उनले भनिन् ।

संग्रौलाले ढिलै भए पनि देशको कूटनीतिक मर्यादा प्रधानमन्त्रीले जोगाउनुपर्ने र त्यसका लागि मुलुकको हैसियत उच्च हुनुपर्ने चेतना आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *