तेहरान। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गरेका छन्।
ईद अल–अधा अघि धेरै मुस्लिम राष्ट्रका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्दै पेजेस्कियनले इस्लामिक एकता अब्बल बनाउन र “खतराहरूको सामना“ गर्दै सबै क्षेत्रहरूमा सहयोग विस्तार गर्नेु पर्ने बताएका छन्।
इराक, ओमान, कतार, टर्की, ताजिकिस्तान, इजिप्ट, किर्गिजस्तान र अजरबैजान लगायतका नेताहरूसँगको कुराकानीमा ईद अल–अदाको शुभकामना दिदै उनले भगवानले मुस्लिमहरूको हृदयलाई नजिक ल्याइ सबै क्षेत्रमा सहयोगको विस्तार र खतराको सामना गर्न एक अर्काको समर्थन गर्न सकिने सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।
किर्गिज राष्ट्रपति सादिर जापारोभसँगको कुराकानीमा पेजेस्कियनले ईद अल–अदालाई मुस्लिम राष्ट्रहरू बीचको विश्वास, बलिदान र एकताको शक्तिशाली प्रतीकको रूपमा वर्णन गरेको इरानी राज्य सञ्चार माध्यम प्रेस टिभीले जनाएको छ। यो अवसरले इस्लामिक विश्वका देशहरूबीच आपसी विश्वास र क्षेत्रीय सम्बन्धलाई गहिरो बनाउन सम्झाउने अवसरको रूपमा काम गर्नुपर्ने उनले बताएका छन्।
इस्लामिक क्षेत्रमा एकता र बाह्य हस्तक्षेपको सामूहिक अस्वीकारमा निर्मित क्षेत्रीय सम्बन्धमा आगामी समयमा “नयाँ अध्याय“ देखा पर्ने विश्वास व्यक्त गर्दै पेजेस्कियनले विवाद समाधानका लागि कूटनीति संवाद प्रति इरानको प्रतिबद्धतालाई दोहोर्याएका छन्।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको वार्ताका क्रममा पेजेस्कियनले मुस्लिम देशहरू बीचको एकताले साझा क्षेत्रीय सङ्कटहरूलाई सम्बोधन गर्न र बाह्य दबाबहरूको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न बताएका छन्।
यसैबीच उनले तेहरान र क्वालालम्पुरबिच आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा बलियो द्विपक्षीय संलग्नताका लागि पनि आह्वान गरेका छन्। जवाफमा प्रधानमन्त्री अनवर इब्राहिमले मुस्लिम राष्ट्रहरू बीच अझ बढी एकता र सहयोगको आशा व्यक्त गरेका छन्।
इराकी राष्ट्रपति निजार अमीदी र प्रधानमन्त्री अली फालिह अल–जैदीसँगको छुट्टै कुराकानीमा, पेजेस्कियनले बलिदान, भाइचारा र ऐक्यबद्धता सम्झाउने इद अल–अदाको मूल्यमान्यताहरू माथि प्रकाश पार्दै क्षेत्रीय सहयोगलाई बलियो बनाउन आवश्यक रहेको कुरामा जोड दिएका छन्।
लाखौं मुस्लिमहरूले हजको १० औँ दिनमा पैगम्बर अब्राहमको ईश्वर प्रतिको भक्तिको सम्मान गर्न ईद अल–अधा मनाउँछन्।
