अष्ट्रेलियामा औद्योगिक प्रदूषण नियन्त्रणका लागि कडा कदम

क्यानबेरा । अष्ट्रेलियाले खानी उद्योगसहित ठूला औद्योगिक कम्पनीहरूलाई उत्पादनस्थलमै प्रदूषण उत्सर्जन घटाउन आग्रह गरेको छ । प्रमुख खानी कम्पनीले कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी केही महत्वपूर्ण योजना पछाडि सारेको समाचार सार्वजनिक भएपछि सरकारको यस्तो प्रतिक्रिया आएको हो ।

जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले उत्सर्जन नियन्त्रणसम्बन्धी अष्ट्रेलियाको ‘सुरक्षा संयन्त्र’ अन्तर्गत पर्ने ठूला उद्योगहरूले उत्सर्जन घटाउन लचकता पाउने भए पनि प्राथमिकता भने उत्पादनस्थलमै प्रदूषण घटाउनुपर्ने बताए । “यो व्यवस्था सबै कम्पनीमा लागू हुन्छ,” उनले भने ।

सञ्चारमाध्यममा सार्वजनिक भएका गोप्य कागजातअनुसार अष्ट्रेलियाको सबैभन्दा ठूलो डिजेल प्रयोगकर्ता मानिने उक्त खानी कम्पनीले नवीकरणीय ऊर्जा परियोजना तथा डिजेलमा चल्ने खानी उपकरणलाई विद्युतीय बनाउने योजना ढिलाइ गरेको देखिएको छ । यसले कम्पनीको सन् २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने प्रतिबद्धतामाथि प्रश्न उठाएको बताइएको छ ।
स्वतन्त्र सांसद केट चेनीले हालको संयन्त्र पर्याप्त कडा नभएको टिप्पणी गरे । उनका अनुसार कम्पनीहरूले प्रत्यक्ष रूपमा प्रदूषण घटाउनुको सट्टा कार्बन क्षतिपूर्ति खरिद गरेर लक्ष्य पूरा गर्न सक्ने अवस्था रहेको छ ।

उनले डिजेलमा दिइने कर छुटले पनि उत्सर्जन न्यूनीकरण प्रयासलाई कमजोर बनाएको बताउँदै ठूला र अत्यधिक नाफामुखी कम्पनीका लागि यस्तो सुविधा सीमित गर्नुपर्ने धारणा राखे । तर किसान तथा साना व्यवसायका लागि भने सुविधा कायम राख्नुपर्ने उनको भनाइ थियो ।

सार्वजनिक कागजातअनुसार पश्चिम अष्ट्रेलियास्थित फलाम खानी सञ्चालनबाट सन् २०३० सम्म केवल करिब १ प्रतिशत मात्रै उत्सर्जन घट्ने अनुमान गरिएको छ । उक्त सञ्चालन कम्पनीको विश्वव्यापी कुल उत्सर्जनको करिब एकतिहाइ हिस्सा मानिन्छ ।
कम्पनीले भने सन् २०२० को तुलनामा हालसम्म ३६ प्रतिशत उत्सर्जन घटाइसकेको र सन् २०५० सम्म शून्य उत्सर्जनको लक्ष्यप्रति प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विशेषगरी ब्याट्रीबाट चल्ने विद्युतीय ट्रकको अभावजस्ता प्राविधिक सीमाका कारण प्रगति सुस्त भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *