-नारायण पौडेल
प्रधानमन्त्रीलाई बोल कि बोल शैलीमा संसदमा बबाल गर्नु स्वयंम् प्रतिपक्षीका लागि आत्मघाती हुने देखिन्छ । बोल्न पाउनु जस्तै नबोली बस्न पाउनु पनि प्रधानमन्त्रीको संवैधानिक अधिकार हो । संविधानले बोल्नै नसक्ने वा बोली नफुटेको व्यक्तिलाई समेत प्रधानमन्त्री हुनबाट छेकेको छैन । यसर्थ संसदमा प्रधानमन्त्री बोल्ने कुरा परम्परा हो, बाध्यता होइन । प्रतिपक्षले सामान्य ध्यानाकर्षण गराए पुग्ने सवालमा भएभरको शक्ति केन्द्रित गर्नु काम पाइनस बुहारी पाडोको …. कनाइस् भनेजस्तै देखिन्छ। प्रधानमन्त्री नबोल्नु प्रतिपक्षको भन्दा रास्वपाको टाउको दुखाइ हुनुपर्ने हो । रास्वपाको वर्चश्व रहेको संसदको उपेक्षामा अरु आत्तिनु अचम्म लाग्दो छ ।
प्रधानमन्त्री बालेनले जे गर्दा जसो गर्दा पनि आनन्द मानिरहेको बहुजन समाजले गज्जबको भाष्य पाएको छ–बोल्ने त पहिले कै थिए, हामीलाई काम गर्ने प्रधानमन्त्री चाहिएको हो । यो भाष्य यति जबरजस्त छ कि भोलि बालेन असफल भएमा कामै गर्न दिएनन्, संसदमा त्यत्रो जात्रा गरे भनिनेछ । कम बोल्ने प्रधानमन्त्रीले नतिजा राम्रो दिएका उदाहरण पनि छन् । भारतमा मनमोहन सिंह कमै बोल्थे, तर उनले भारतीय अर्थतन्त्रको जग बसाले ।
बालेनले चुनावमा कमै बोले तर जति बोले त्यसले दीर्घकालीन प्रभाव पार्ने गरि बोले । मधेश पुगेर उनले संघीयताप्रति पक्षधरता मात्र जनाएनन्, काठमाडौँसँग मधेशको सम्बन्ध सांस्कृतिक र पर्यटकीयमात्र रहेको प्रष्टिकरण दिए । भन्दिए–काठमाडौं पशुपति दर्शन गर्न जाने हो, अधिकार माग्न होइन । झण्डै दुई तिहाईको बहुमत पाएको प्रधानमन्त्रीबाट मधेशले पूर्ण स्वायत्त प्रदेशको चेक अड्भान्समा बुझिसकेको छ । चेक बाउन्स भएपनि देशले ढिलो चाँडो कठोर आन्दोलनको सामाना गर्नुपर्ने संकेत देखिँदैछ । चेक क्लियर भए देशले अपूरणीय क्षति व्योहोर्ने छ । प्रतिपक्षको भूमिका प्रधानमन्त्रीलाई जबरजस्त बोल्न लगाउनेभन्दा प्रधानमन्त्रीका बोलीबाट पर्न सक्ने संकटमा केन्द्रित हुनु मुलुकको हितमा रहनेछ ।
प्रतिपक्षले अथाह जनपक्षीय मुद्दा थाती राखेर बालेन क्रेजलाई बढवा दिने गरि बोल कि बोल भनिरहेको छ । बरु, जेनजीको आन्दोलनमा भएको सुरक्षा कमजोरी, गोलीको वर्षा र जनधनको क्षतिका सम्बन्धमा संसदीय समिति बनाएर अनुसन्धान गर्न माग गरे हुने । हत्यारा र हिंस्रकलाई कारबाही गर्नुपर्ने भनि आवाज बुलन्द गरे हुने । बर्खायाम आइसक्यो, घरबारविहीन बनाइएकाको गाँस बासको कुरा उठाए हुने, मलखादको ग्यारेण्टी खोजे हुने । सबथोक छाडेर, प्रधानमन्त्री खोजी बसेको प्रतिपक्ष देखेर हास्नु कि रुनु ?
