काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित भएको सरकार ठूला माछा समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन् ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा पक्राउ प्रकरणतर्फ संकेत गर्दै भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने बताएका हुन् ।
उनले सामान्य नागरिकले सानो चोरी गर्दा प्रमाणका आधारमा दण्डित हुने तर आर्थिक रूपमा सम्पन्न व्यक्तिले ठूलो चोरी गर्दा प्रमाण नभेटिएको भन्दै निर्दोष ठहरिने अवस्थाले न्यायिक प्रणालीमाथि प्रश्न उठाएको बताएका छन् ।
उनले भनेका छन्, ‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ । हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ । तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने । अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने ? देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही शुरूवात हुन्न है !’
