-श्यामप्रसाद मैनाली ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरजीको व्यक्तित्व, विगत र उहाँका बारेमा उठेका विभिन्न प्रश्नमाथि टिप्पणी गरिरहनु आवश्यक ठान्दिनँ। ती विषय सार्वजनिक चर्चामै छन् र धेरै कुरा सबैलाई जानकारी नै छ ।तर मध्यरातमा चोलेन्द्रजीलाई खतरा देखिएछ। उहाँको सुरक्षाका लागि प्रहरी पुगेर कपडासमेत फेर्न नदिई प्रहरी चौकीमा पुर्याएछ । सुरक्षाका लागि लगिएका उहाँलाई अन्ततः अपराध अनुसन्धान गर्ने निकायमा पुर्याइएछ। त्यहाँ पुगेपछि चोलेन्द्रजीले पनि आफूलाई सुरक्षा खतरा रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिन भ्याउनुभएछ ।
लामो समय सुरक्षा निकायमा काम गरेको अनुभवका आधारमा हेर्दा, यो प्रहरी कारबाही हो कि सुरक्षा व्यवस्था, म आफैँ पनि स्पष्ट हुन सकिनँ । पूर्वप्रधानन्यायाधीश यदि कुनै अपराधमा संलग्न हुनुहुन्छ भने राज्यले उहाँलाई पक्राउ गरी कानुनी कारबाही गर्न कुनै संकोच मान्नु पर्दैन। तर कानुनी राज्यमा पक्राउको आधार र प्रयोजन स्पष्ट हुनु स्वाभाविक अपेक्षा हो । पक्राउ पुर्जीसमेत नदिइनु र किन पक्राउ गरिएको हो भन्ने कुरा पनि स्पष्ट रूपमा बुझ्न नसकिनुचाहिँ केही असहज लाग्ने विषय बनेको छ ।
आखिर यो गिरफ्तारीको उद्देश्य के थियो ? मैले चाहेर पनि बुझ्न सकिनँ। बजारमा आएका चर्चा, परिचर्चा र विभिन्न विश्लेषणलाई आधार मान्ने हो भने त चोलेन्द्रजीमाथि कडा कानुनी कारबाही हुनुपर्ने देखिन्थ्यो। अहिलेसम्मको अभ्यासमा प्रायः प्रहरीले गिरफ्तार गर्ने र अदालतले छाड्ने क्रम देखिँदै आएको थियो । यसपटक भने प्रहरीले गिरफ्तार गर्यो र प्रहरीले नै छाडिदियो। यसले विगतको क्रममै एउटा नयाँ मोड थपेको देखिन्छ ।
त्यसैले, यस विषयमा जानकार साथीभाइहरूले मेरो यो अलमल हटाइदिनुहुनेछ कि ? आखिर यो गिरफ्तारी थियो, सुरक्षा व्यवस्था थियो, वा अरू नै कुनै प्रयोजन ? म त यतिबेला यति मात्र भन्न सक्ने अवस्थामा छु, बुझ्न खोज्दा झन् अलमलमा परियो ।
