वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

काठमाडौ । वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो ।

त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ । यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ । यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनःश्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो ।

सर्वेक्षणले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १०.० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १८.५ प्रतिशले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *