कोहलीको सतकमा बैंगलुरु कलकतालाई हराउँदै शीर्ष स्थानमा

एजेन्सी । विराट कोहलीले सतक बनाएपछि रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग(आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा कलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै बैंगलुरु तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १९.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बैंगलुरुलाई जित दिलाउन विराट कोहलीले सतक बनाए । उनले ६० बल खेल्दै ११ चौका र ३ छक्काको मद्दतमा १ सय ५ रन बनाए । यस्तै देवदत्त पडिक्कलले ३९, जाकोब बेथेलले १५ र कप्तान रजत पतिडरले ११ रनको योगदान गरे ।

कलकताको लागि कार्तिक ट्यागीले ४ ओभरमा ३२ रन दिएर तीन विकेट लिँदा सुनिल नारिनले एक विकेट लिए ।

यसअघि राइपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कलकताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । कलकताको लागि अन्ग्क्रिश रघुवंशीले अर्धसतक बनाए । उनले ४६ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै रिंकु सिंहले २९ बलमा ३ चौका र २ छक्काको मद्दतमा नटआउट ४९ रन बनाउँदा क्यामेरोन ग्रिनले ३२, कप्तान अजिंके रहाणेले १९ र फिन एलिनले १८ रन बनाए ।

बैंगलुरुको लागि भुवनेश्वर कुमार, जोश हज्लेवुड र राशिख सलामले समान एक/एक विकेट लिए ।

जितसँगै बंगलुरु १२ खेलबाट १६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको कलकता ९ अंकको साथ आठौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *