काठमाडौं । फिफा विश्वकप-२०२६ को पहिलो सेमिफाइनल खेलमा आज फ्रान्स र स्पेन प्रतिस्पर्धा गर्दैछन् । डाल्लास स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरू हुनेछ ।
दुवै टोली आज जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । फ्रान्सले क्वाटरफाइनलमा अफ्रिकन कपको उपविजेता मोरोक्कोलाई २-० गोलले हराउँदै लगातार तेस्रोपटक अन्तिम चारमा स्थान बनाएको थियो भने स्पेनले बेल्जियमलाई २-१ गोलले पाखा लगाएको थियो । जारी विश्वकपमा दुवै टोली अपराजित रहेका छन् । फ्रान्सले सबै ६ खेल जितेको छ भने स्पेन पाँच खेल जित्दा पहिलो खेल बराबरी खेलेको थियो । स्पेन फिफा वरीयताको दोस्रो र फ्रान्स तेस्रो स्थानमा रहेका छन् ।
फ्रान्स आज यसअघिको दुई सेमिफाइनल खेलको बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । यसअघि युरो २०२४ को सेमिफाइनलमा २-१ र युईएफए नेसन्स लिग-२०२५ को सेमिफाइनलमा ५-४ गोलले पराजित भएको फ्रान्स आज बदला लिँदै फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । यता सन् २०१० पछि पहिलोपटक सेमिफाइनलमा पुगेको स्पेन दोस्रोपटक फाइनलमा पुग्ने दाउमा छ ।
आजको खेलको विजेताले फाइनलमा अर्जेन्टिना र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।
