-भावना राउत ।
कहीँकतै देउवाजीसम्म पुगिहाले, कांग्रेस बाँचोस् र बलियो बनोस् भन्ने एउटा युवाले यसो भनेकी थिई भनेर सुनाइदिनुहोला ।
देउवाजी,
मुलुक अनेकौँ संकट, संघर्ष र राजनीतिक उतारचढाव पार गर्दै आजको दिनसम्म आइपुगेको छ । तपाईंहरूको संघर्षकै कारण आज हामी प्रश्न गर्न, असहमति राख्न र सत्तासँग हिसाब माग्न पाउने व्यवस्थामा छौँ । त्यसका लागि तपाईंको पुस्ताप्रति सम्मान र धन्यवाद छ । तर इतिहासको सुन्दर पक्ष के हो भने एउटा पुस्ताको संघर्षले व्यवस्था बनाउँछ, अर्को पुस्ताको विद्रोहले त्यसलाई समयअनुसार बदल्न बाध्य पार्छ । तपाईंहरूको त्यागले बोल्न पाएको पुस्ताले गरेको विद्रोहले आज कांग्रेसलाई पनि गगन थापाको नेतृत्वसम्म पुर्याएको छ ।
मलाई निर्वाचनअघिका ती छलफलहरू याद छन्, जहाँ तपाईं मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य छ भन्नुहुन्थ्यो । निर्वाचनको वातावरण बनाउन र देशलाई संवैधानिक बाटोमा फर्काउन तपाईंले निर्वाह गरेको भूमिकालाई अस्वीकार गर्न मिल्दैन। त्यसका लागि तपाईं धन्यवादका पात्र हुनुहुन्छ ।
तर देउवाजी, समय बदलिएको छ। विगतको योगदानले वर्तमानको जवाफदेहिताबाट उन्मुक्ति दिँदैन । मेरो पुस्ताले बारम्बार मागेको हिसाब आज सरकारले खोजिरहेको छ । त्यसमा तपाईंले चुक्ता गर्नुपर्ने कुनै हिसाब बाँकी छ भने अब चुक्ता गर्नैपर्छ। जलेका नगदको स्रोतदेखि सार्वजनिक पदमा रहँदाका हरेक निर्णयसम्म, जनताको एक–एक थोपा पसिना र युवाहरूको रगतसँग जोडिएको प्रश्नको निष्पक्ष उत्तर आउनुपर्छ। आरोपको टुंगो विधि र प्रमाणले लगाओस्, न राजनीतिक प्रतिशोधले कसैलाई अपराधी बनाओस्, न राजनीतिक प्रभावले कसैलाई अनुसन्धानभन्दा माथि राखोस् ।
सहिदका शव बोक्ने युवा आज गृहमन्त्रीको जिम्मेवारीमा पुगेको छ । सोच्नुस्, त्यो जिम्मेवारीको भारले उसलाई कति दुखाएको होला । त्यसैले अब हिसाब खोजिनु स्वाभाविक मात्र होइन, अनिवार्य छ। निष्पक्ष छानबिनमा सहयोग गर्नुहोला । लोकतन्त्रको रक्षा आफू अनुकूल हुँदा संस्थालाई प्रयोग गरेर होइन, आफ्नै पालोमा समेत विधिको अधीनमा उभिएर गरिन्छ।
कांग्रेसले पुस्तान्तरण गरेको छ । यो कुनै अपमान होइन, कांग्रेसले स्वयं बोकेको लोकतान्त्रिक मूल्य र समयको मागको स्वाभाविक परिणाम हो । अब त्यस पुस्तान्तरणलाई उल्ट्याउने, नयाँ नेतृत्वलाई कमजोर बनाउने वा व्यक्तिगत असन्तुष्टिका कारण पार्टी फुटाउने कुनै कर्म नहोस्। किनकी अहिले मुलुकलाई सरकारमाथि निगरानी राख्ने, लोकतान्त्रिक सीमाको रक्षा गर्ने र आवश्यक पर्दा जनताको पक्षमा दृढतापूर्वक उभिने बलियो प्रतिपक्ष चाहिएको छ । कांग्रेस एकढिक्का हुनु आज केवल पार्टीको आवश्यकता होइन, मुलुकको लोकतान्त्रिक आवश्यकतासमेत हो । तपाईंप्रति सम्मान पनि छ, उठेका प्रश्नको उत्तर खोजिनुपर्छ भन्ने अडान पनि। यी दुई भावना परस्पर विरोधी होइनन्, यही त लोकतन्त्र हो । देशमा स्वागत छ, देउवाजी । इतिहासले तपाईंको संघर्ष सम्झिनेछ, तर वर्तमानले तपाईंसँग हिसाब पनि माग्नेछ ।
