काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ८ः२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक छेउमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०–४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा दुई जनालाई अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
