काठमाडौं । असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने तथा कोशी, मधेस, बागमती र सुदूरपश्चिमका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न प्राधिकरणले आग्रह गरेको छ।
खोला, नदी किनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन तथा मौसमसम्बन्धी पूर्वसूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।

