काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको माग अस्वीकार गरेका छन् ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिए पनि त्यसकै आधारमा नेतृत्व छाडेर नभाग्ने बताएका हुन् ।
उनले तत्काल नेतृत्व विस्थापनको औचित्य नरहेको दाबी गर्दै आत्मसमीक्षा र संगठन सुदृढीकरणमा जोड दिएका छन् । पुस्तान्तरण आवश्यक भए पनि त्यसलाई संस्थागत र योजनाबद्ध प्रक्रियाबाट अघि बढाउनुपर्ने उनको भनाइ छ।
प्रतिवेदनमा ओलीले पार्टीभित्र नीति, कार्यशैली, उम्मेदवार छनोट तथा निर्णय प्रक्रियाका विषयमा हुने आलोचनालाई आफूले स्वीकार गर्ने बताएका छन् । तर स्वास्थ्य, उमेर, शारीरिक अवस्था र विगतको राजनीतिक संघर्षलाई आधार बनाएर गरिने व्यक्तिगत आलोचनाप्रति भने उनले असन्तुष्टि जनाएका छन् ।
त्यस्तै, उनले अहिले उठाइएको ‘पुनर्गठन’को बहसलाई पनि असान्दर्भिक भएको बताएका छन् । निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी लिनु र नेतृत्व छाड्नु एउटै विषय नभएको उनको भनाइ छ ।
ओलीले एमालेको इतिहासमा असाधारण परिस्थितिमा मात्रै पुनर्गठन भएको उदाहरण दिँदै अहिले नेतृत्व विस्थापन गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । उनका अनुसार अहिलेको प्राथमिकता आत्मसमीक्षा र संगठनलाई थप व्यवस्थित बनाउनु हो, नेतृत्व परिवर्तन गर्नु होइन ।
