दशरथ रङ्गशालामा सुकुम्बासीको ‘स्क्रिनिङ, चार परिवारलाई पठाइयो कीर्तिपुर

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्बासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका  सुकुम्बासी परिवारको लगत संकलन गरिरहेका छन् ।

दिउँसो १ः३० बजेसम्म २३ परिवारको लगत संकलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन् । सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै किर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको उनले बताए।

‘वास्तविक सुकुम्बासीको परिवार सङ्ख्या, घरमूलीको नामलगायत विवरण सङ्कलन गरिरहेका छौँ । त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ’, केसीले भनिन् , ‘सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।’

अस्थायी बसोबासस्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनले जानकारी दिइन् । थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रङ्गशाला ल्याइएको हो । अहिले पनि सुकुमवासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रङ्गशाला आउने क्रम जारी छ ।

‘वास्तविक सुकुम्बासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ’, प्रमुख केसीले भनिन्, ‘केही परिवार यहाँ आएर पनि सरकारले तोकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।’

उनका अनुसार रङ्शालाभित्रै सुकुमवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ ।

सुकुमवासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।

यसैबीच, थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने काम सम्पन्न भएको छ । त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ । केही सुकुम्बासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन् ।

सुरक्षाकर्मीलगायतको टोलीले अहिले सिनामङ्गल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ । सो क्षेत्रमा रहेका सुकुमवासी/भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घरटहरा भत्काएर सरसामन सुरक्षित स्थानमा लगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *