झापा । विभागीय टोली नेपाल एपीएफ क्लब चन्द्रगढी महिला गोल्डकपको फाइनलमा पुगेको छ । शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले हराउँदै एपीएफले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गर्दा अनिता बस्नेतले एक गोल गरिन् । खेलको ३४ औँ मिनेटमा सरु लिम्बुको पासमा रश्मीले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ४९ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।
६२ औँ मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई सहज जिततर्फ अगाडि बढाएकी थिइन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफ ३-० गोलले विजयी हुँदै फाइनलमा पुगेको हो ।
अब एपीएफले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबको सामना गर्नेछ । आर्मीले पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलिई २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल सोमबार हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ भने उपविजेता बन्ने टोलीले पाँच लाख रुपैयाँ र ट्रफी पाउनेछ ।
