काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी शुरूवात गरेको छ । शनिबार दिउँसो भएको खेलमा अलराउण्डर दीपेन्द्र सिंह एरीले अर्धसतक बनाएपछि नेपालले युएईलाई ३७ रनले पराजित गरेको हो ।
जितको लागि २ सय १ रनको सामान्य विजयी लक्ष्य पछ्याएको युएईले ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६३ रनमात्र बनाउन सक्यो । युएईको लागि हर्प्रित सिंहले सर्वाधिक ३९ रन बनाउँदा कप्तान मुहम्मद वासिमले ३४, आकाशदिप नाथले ३० तथा निलांश केस्वानी र आर्यांश शर्माले समान १८/१८ रन बनाए ।
नेपालको लागि करण केसीले ९.२ ओभरमा दुई मेडन राख्दै १९ रन दिएर चार विकेट लिए । यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा दीपेन्द्र सिंह एरी र ललित राजवंशीले एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २ सय रन बनाएको थियो । नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन दीपेन्द्र सिंह एरीले ७५ रन बनाए । उनले ९० बल खेल्दै ५ चौका र दुई छक्काको सहयोगमा ७५ रन बनाए । यस्तै कुशल भुर्तेलले २४, बासिर अहमदले २०, तथा आरिफ शेख र सोमपाल कमीले १५/१५ रनको योगदान गरे ।
युएईको लागि जुनाइड सिद्दिकी र अजय कुमारले तीन/तीन विकेट लिँदा खुजाइमा तान्भिरले दुई तथा हैदर अली र मुहम्मद शदादले एक/एक विकेट लिए ।
जितसँगै नेपाल २१ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ भने समान खेलबाट १० अंक जोडेको युएई आठौँ स्थानमा रहेको छ ।
