काभ्रेपलाञ्चोक । दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभे्रपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।
वर्षाका कारण रोशी खोलामा पानीको वहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच राजमर्गा अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ । गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल क्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
